वृत्ति

आफ्नो सीप र क्षमताको प्रयोग गरी कुनै पनि नियमित आयमूलक क्रियाकलापबाट जीवनयापन गर्नु तथा समाजमा योगदान गर्दै सामाजिक पहिचान कायम गर्नु नै वृत्ति (career) हो । वृत्ति एउटा लक्ष्य सहितको लामो यात्रा हो । जसमा व्यक्तिले प्राप्त गर्नुपर्ने शिक्षा, निर्वाह गर्नुपर्न बिभिन्न भूमिका, अनुभव, र गन्तब्यमा पुग्ने स्पष्ट मार्गचित्र हुन्छ । एउटै वृत्ति भित्र धेरै जागिर हुन सक्छन् । उदाहरणका लागि शिक्षक एउटा वृत्ति हो भने यसभित्र हुने गणित शिक्षक, विज्ञान शिक्षक, आधारभूत शिक्षक, माध्यमिक शिक्षक, प्राध्यापक, आदि जागिर हुन् ।

पाँच क्षमता (Five Potentials)

कुनैपनि वृत्ति छनोट गर्न नभई नहुने तत्वहरू रुचि र खुबी हुन् । व्यक्तिको रूचि र खुबी अनुसार वृत्ति रोजियो भने मात्र जीवनमा सन्तुष्ट र सफल भइन्छ । रुचि र खुबीको मिलन विन्दु क्षमता हो । हरेक व्यक्ति जन्मैदेखि विभिन्न क्षमताहरू लिएर आएको हुन्छ । प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक हावर्ड गार्डनरको बहुआयामिक प्रज्ञाको सिद्धान्त (Multiple Intelligence Theory ) अनुसार विभिन्न क्षमताहरु मध्ये बाट पाँच प्रकारका क्षमता (भाषिक, विश्लेषणात्मक-तार्किक, स्थलगत, व्यक्तिगत, र शारीरिक-यान्त्रिक) को आधारमा यहाँ वृत्ति मार्गनिर्देशन गरिएको छ । प्रत्येक मानिसमा यी सबै क्षमताहरू हुन्छन् तर यिनीहरूको मात्रा भने फरक फरक हुन्छ । यदि हामीले आफूमा प्रवल भएको क्षमता पत्ता लगाई त्यो क्षमतासँग सम्बन्धित वृत्ति छनोट गर्न सक्यौ भने त्यो वृत्तिमा सफलता प्राप्त गर्न सजिलो हुन्छ । त्यसकारण यी पाँच क्षमताको बारेमा जानकारी हुन अत्यन्त आवश्यक छ ।

भाषिक (Linguistic)

भाषिक क्षमता भनेको मौखिक वा लिखित रूपमा शब्दसँग खेल्न सक्ने क्षमता हो । यो क्षमता प्रवल भएका मानिसहरू शब्दलाई प्रभावकारी ढंगले प्रयोग गर्न सक्ने; आफ्नो विचार स्पष्ट रुपमा राख्न सक्ने; आफूले जानेको कुरा अरुलाई बुझाउन/सिकाउन सक्ने; बोल्न तथा तर्क-वितर्क गर्न सक्ने; कलात्मक ढंगले कुराकानी गर्न सक्ने; आफ्नो विचार, भावना र अनुभवलाई कथा, कविता, निवन्धमा व्यक्त गर्न सक्ने; शब्दको अर्थमा विशेष ख्याल राख्न सक्ने र लेखन कलामा निपुण हुन्छन् । उदाहरणका लागि शिक्षक, प्रशिक्षक, लेखक, कथाकार, वकिल, पत्रकार, सम्पादक आदि भाषिक क्षमता राम्रो भएका व्यक्तिहरू हुन् ।

विश्लेषणात्मक (Logical)

तथ्य र तथ्याङ्कसँग खेल्न सक्ने क्षमतालाई विश्लेषणात्मक-तार्किक क्षमता भनिन्छ । यो क्षमता राम्रो भएका मानिसहरू कुनैपनि विषयमा तर्क दिन सक्ने, हिसाबकिताब र सुत्रहरूसँग काम गर्न सक्ने, प्राप्त तथ्य, तथ्याङ्क र सूचनालाई विश्लेषण गर्न सक्ने र विचार विमर्श गरी समस्याको समाधान प्रभावकारी रूपले गर्न सक्छन् । तथ्याङ्क (data) केलाएर आकलन गर्ने, पैसाको हर हिसाब राख्ने, योजना बनाउने र कार्यान्वयन गर्ने जस्ता कामको अग्र पङ्तिमा यो क्षमता भएका व्यक्तिहरू पाइन्छन् । कुनैपनि बिषयवस्तुमा तर्क वितर्क गर्ने काममा यस्ता व्यक्तिहरू अब्बल हुन्छन् । त्यसैगरी कुनैपनि कामको कारण र प्रभाव सम्बन्ध (cause-effect relationship) हेर्ने काम गर्ने व्यक्तिहरूमा पनि यो क्षमता उच्च रहेको हुन्छ । उदाहरणको लागि गणित विज्ञ, लेखापाल, वैज्ञानिक, कम्प्युटर विज्ञ, अनुसन्धानकर्ता, आदिमा विश्लेषणात्मक-तार्किक क्षमता प्रवल रहेको हुन्छ ।

स्थलगत (Spatial)

रङ र आकारसँग खेल्न सक्ने क्षमतालाई स्थलगत क्षमता भनिन्छ । स्थान र रङलाई कहाँ र कसरी प्रयोग गर्ने, कुन वस्तुलाई कस्तो आकार दिने जस्ता काम गर्न स्थलगत क्षमताको आवश्यकता पर्दछ । यो क्षमता प्रवल भएका मानिसहरूले कुनैपनि स्थानलाई आफ्नो कल्पना अनुसार सजाउन सक्छन् ; आफ्नो भावना तथा अनुभवलाई चित्रमा उतार्न सक्छन् ; प्लास्टिक वा अन्य सामग्रीबाट नयाँ वस्तु उत्पादन गर्न सक्छन् ; व्यक्ति वा वस्तुको शारीरिक छवि सजिलैसँग कोर्न सक्छन् । उनीहरू ग्राफ, चार्ट, टेबुल, चित्र आदिको प्रभावकारी ढंगले व्याख्या विश्लेषण गर्न सक्दछन् । उदाहरणको लागि आर्किटेक्ट इन्जिनियर, ब्युटिसियन, फेसन डिजाइनर, पेन्टर, मूर्तिकार, आदि स्थलगत क्षमता राम्रो भएका व्यक्तिहरू हुन् ।

व्यक्तिगत (Personal)

व्यक्तिगत क्षमतामा वैयक्तिक (Intrapersonal) र अन्तरवैयक्तिक (Interpersonal) दुवै क्षमताहरू पर्दछन् । आफ्ना भावना, संवेग, विचार, मनस्थिति र स्वभावप्रति सचेत रही केहि काम गर्न सक्ने क्षमतालाई वैयक्तिक क्षमता भनिन्छ । यस्तो क्षमता भएका व्यक्तिहरू आत्मसचेत रहने, आफ्ना सवल पक्ष र दुर्वल पक्ष आत्मसमिक्षा गर्न सक्ने, नयाँ नयाँ सिद्धान्त र विचारहरू विश्लेषण गर्न रमाउने खालका हुन्छन् । उदाहरणका लागि लेखक, दार्शनिक, वैज्ञानिक, सिद्धान्त प्रतिपादक, विश्लेषक आदि वैयक्तिक क्षमता प्रवल भएका व्यक्तिहरू हुन् ।
अरुका भावना, संवेग, विचार, मनस्थिति र स्वभावप्रति सचेत रही केहि काम गर्न सक्ने क्षमतालाई अन्तरवैयक्तिक क्षमता भनिन्छ । यस्तो क्षमता भएका व्यक्तिहरू अरुको समस्यालाई बुझ्न सक्ने, अरुको सम्मान र विश्वास जित्न सक्ने, आफ्नो बोलि व्यवहारबाट अरुलाई प्रभाव पार्न र परिवर्तन गर्न सक्ने, अरु व्यक्तिहरूलाई स्वभाविक ढंगले भेटघाट गर्न सक्ने र उनीहरूसँग घुलमिल हुन सक्ने खालका हुन्छन् । उदाहरणका लागि समाजसेवी, परामर्शकर्ता, नर्स, वेटर, हेरचाहकर्ता, बारटेन्डर, रिसेप्सनिष्ट, बजार व्यवस्थापक आदि अन्तरवैयक्तिक क्षमता प्रवल भएका व्यक्तिहरू हुन् ।

शारीरिक-यान्त्रिक (Physical-Mechanical)

आफ्नो शरिरलाई कुशल ढंगले प्रयोग गर्न सक्ने क्षमतालाई शारीरिक-यान्त्रिक क्षमता भनिन्छ । यस्तो क्षमता भएका व्यक्तिहरूको आँखा र हात तथा हात र गोडाको संयोजन एकदमै राम्रो हुन्छ । शारीरिक श्रम लाग्ने काममा यिनीहरूलाई वढी रूचि हुन्छ । यस्ता व्यक्तिहरू कुनैपनि क्रियाकलापप्रति छिट्टै शारीरिक प्रतिक्रिया जनाउने, कल-कारखानामा काम गर्न सक्ने, हातको मसिनो काम गर्न सक्ने, प्रविधिको प्रयोग गरी काम गर्न सक्ने, मेसिनसँग काम गर्न सक्ने खालका हुन्छन् । उदाहरणका लागि खेलाडी, नर्तक (Dancer), कलाकार, कुक, सिकर्मी, डकर्मी, वेल्डर, मोबाइल मर्मतकर्ता, कृषक, आदि शारीरिक-यान्त्रिक क्षमता राम्रो भएका व्यक्तिहरू हुन् ।