वृत्ति मार्गनिर्देशन – परिचय र उद्देश्य

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता वैयक्तिक रुची, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न युवा, विद्यार्थी, वैदेशिक रोजगारबाट फर्किएका कामदार तथा उनीहरुका परिवार, विद्यालय, स्थानीय क्लब, युवासँग सम्बन्धित संघ / संस्थालाई सूचना, परामर्श, वृत्ति एवम् मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले, विनियोजन ऐन, २०८० को दफा ९ (२) बमोजिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि, २०८० बनाएको छ ।

वृत्ति मार्गनिर्देशन – परियोजनाको इतिहास

भनिन्छ जति कलिलोमा बालबालिकाको रुचि खुबी र क्षमताको पहिचान हुन सक्यो त्यति नै ती भविष्यमा सफल नागरिक हुने उच्च संभावना हुन्छ । तर नेपालको विशेष प्रकारको समाजमा बालबालिकालाई पुरानो पुस्तालाई भन्दा जानकारी लिन सजिलो छ । यसैले १४-१५ वर्षका विद्यार्थीको निर्णय परिवारले स्वीकार गर्न सक्दछ । यही कारणले परियोजनाले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरेर सन् २०१७ देखि वृत्ति मार्गनिर्देशन कार्यक्रम लागू गरेको हो। विद्यार्थीलाई सिकाउने व्यक्ति या भनौं शिक्षक-शिक्षिकाहरू पनि नेपालको शैक्षिक परिदृश्य, वृत्तिमार्गको सैद्धान्तिक पक्षका बारेमा जानकार हुन आवश्यक छ । यसैले, कार्यक्रम लागू हुनु अगाडि शिक्षक-शिक्षिकालाई पनि उचित प्रशिक्षण आवश्यक छ। त्यसैले यो परियोजनाले विद्यालयको शिक्षकहरुलाई वृत्ति मार्गनिर्देशन प्रशिक्षक को तालिम दिएको छ । विद्यार्थीले यी सत्रहरूमा सहभागी भए पश्चात् आफूलाई चिन्ने र भविष्यको योजना बनाउनेतर्फ सोच्न थालेको बताएका छन् । शिक्षक-शिक्षिकाले आफ्ना विद्यार्थीको जीवनपथमा वास्तविक देन दिन सकेकोमा सन्तुष्ठि व्यक्त गरेका छन् । वृत्ति मार्गनिर्देशन प्रशिक्षण तथा विद्यालयमा लागू गरिने कार्यक्रमले कक्षामा पारम्परिक रुपमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई समूहमा अन्तरक्रियात्मक सहजीकरणको सीप विकास गर्न पनि सहयोग सिद्ध भएको छ । राष्ट्रको बदलिँदो परिवेशमा गाउँ तथा नगरपालिकामा सीप विकासका कार्यक्रम लागू गर्ने महत्त्वपूर्ण जिम्मेवारी आइ परेको छ । यसैले स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालयको छनोट गर्ने गरिएको छ । वृत्ति मार्गनिर्देशनको महत्त्व बुझ्न थालेका कतिपय पालिका प्रमुख र अध्यक्षले पनि परियोजनासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

वृत्ति मार्गनिर्देशन वेबसाइटको उद्देश्य

कुनै पनि समयमा र सुविधा जनक तरिकामा विद्यार्थीहरूले सजिलैसँग वृत्ति मार्गनिर्देशन प्राप्त गर्नको लागि यो डिजिटल प्लेटफर्म तयार गरिएको हो। उस डिजिटल प्लेटफर्मले विद्यार्थीहरूलाई आफ्नो वृत्तिका विकल्पहरू अन्वेषण गर्न मद्दत गर्न विभिन्न स्रोत र उपकरणहरू प्रदान गर्नेछ, जस्तै:

● आत्म-मूल्याङ्कन उपकरण

● वृत्ति जानकारी र स्रोतहरू

● परामर्श र मार्गदर्शन उपकरण

● काम खोज सहयोग

यसले विद्यार्थीहरूलाई उनीहरूको वृत्ति विकल्पहरूको समग्र दृष्टिकोण प्राप्त गर्न र उनीहरूको भविष्यको बारेमा सूचित निर्णयहरू गर्न दिनेछ।