पछाडी जानुहोस्   

३. वृत्ति खोजी पथ (Career Discovery Path)

वृत्ति खोजी पथ (Career Discovery Path)

कुनैपनि व्यक्तिले आफ्नो रूचि, खुवी र क्षमता अनुसारका धेरै वृत्तिहरू मध्येबाटआफूलाई उपयुक्त लागेका विकल्पहरूको प्राथमिकीकरण गरी पहिलो विकल्पको वृत्तिको तयारी गर्ने समग्र प्रक्रियालाई वृत्ति खोजी पथ भनिन्छ । हाम्रो जस्तो देशमा अभिभावक, आफन्त, छरछिमेकी र साथीहरूको प्रभावमा परी वृत्ति छनोट गर्ने गरेको पाइन्छ । तसर्थ कुनैपनि वृत्तिबाट पूर्ण  सन्तुष्टि प्राप्त गरी उक्त वृत्तिमा उच्चतम सफलता प्राप्त गर्न वृत्ति खोजी पथको अवलम्वन गर्नु पर्दछ । वृत्ति खोजी पथमा निम्नानुसारका चार चरणहरू हुन्छन् –

१. आफूलाई बुझ्नु

वृत्ति खोजी पथको पहिलो चरण आफूलाई बुझ्नु हो । वृत्ति खोजी गर्ने कार्यको शुरुवात आफैबाट गर्नु पर्दछ । कुनैपनि व्यक्तिलेवृत्ति छनोट गर्नु भन्दा पहिला आफ्नो रुचि, खुबी र क्षमतापहिचान गर्नुपर्दछ ।त्यसैगरी कुनैपनि वृत्ति प्रतिको आफ्नो धारणा र विश्वासलाई पनि बुझ्नुपर्दछ। आफूलाई जुन काम गर्दा रमाइलो लाग्छ र गरीरहन मन लाग्छ त्यसलाई रुचि (Interest) भनिन्छ । व्यक्तिको रुचि समय, परिस्थिति र वातावरण अनुसार परिवर्तन हुनसक्छ । त्यसकारण व्यक्तिले सर्वप्रथम आफ्नो रुचि अनुसारको काम पत्ता लगाउनु पर्दछ । त्यसैगरी मानिसले आफ्नो जन्मसँगै केही विशेष प्रतिभा लिएर आएको हुन्छ जसका कारण ऊ कुनै काममा स्वतः राम्रो हुन्छ र त्यो कामलाई निपुण तरिकाले गर्न सक्छ । उक्त जन्मजात विशेष प्रतिभालाई खुबी (Aptitude)भनिन्छ । खुबी तुलनात्मक रुपमा अपरिवर्तनशील हुन्छ तर समयमै सही वातावरण दिन सकेमा खुबीलाई तिखार्न सकिन्छ । रुचि र खुबीको मिलनबाट क्षमता बन्दछ । यदि कुनै व्यक्तिलाई केही काम गर्न रमाइलो लाग्छ र त्यो कामलाई उसले निपुणता पूर्वक गर्न पनि सक्छ भने त्यसकाममा उसको क्षमता (potential)छ भन्ने बुझिन्छ । यसरी व्यक्तिले आफ्नो रुचि, खुबी, क्षमता र वृत्ति बिश्वास अनुरुपको वृत्ति रोज्न वृत्ति खोजी पथको दोस्रो चरणमा प्रवेस गर्नु पर्दछ ।

२. कामको संसारलाई बुझ्नु

वृत्ति खोजी पथको दोस्रो चरण कामको संसारलाई बुझ्नु हो । कामको संसार भनेको श्रम बजार (LaborMarket) हो ।यस अन्तरगत वृत्तिको नाम, परिभाषा, काम, वाञ्छनीय योग्यता, योग्यता र आम्दानीको बारेमा जानकारी प्राप्त गरिन्छ ।आफूलाई बुझीसके पछिश्रम बजारमा आफ्नो क्षमतासँग मेल खाने के कस्ता वृत्तिहरू उपलब्ध छन् ? ती वृत्तिहरूमा के के कामहरू गर्नु पर्दछ ? ती वृत्तिहरूलाई आवश्यक पर्ने योग्यता के के हुन् ?ती वृत्तिहरूबाट के कस्तो आम्दानी प्राप्त गर्न सकिन्छ ? जस्ता प्रश्नहरूको उत्तर खोजिन्छ । उक्त प्रश्नहरूको उत्तरबाट व्यक्तिलेशैक्षिक जानकारी र वृत्ति जानकारी प्राप्त गर्दछ ।

३. वृत्तिका विकल्पहरूको विकास

वृत्ति खोजी पथको तेस्रो चरणमा वृत्तिका विकल्पहरूको विकास गरिन्छ । व्यक्तिले आफ्नो रुचि, खुबी र क्षमतासँग मेल खाने विभिन्न वृत्तिहरूको छनोट गर्ने काम यस चरणमा गर्दछ ।एक भन्दा बढी वृत्ति छनोट गर्नाले भविष्यमा धेरै मार्गहरु खुला रहन्छन्। यसले गर्दा व्यक्तिसँग बैकल्पिक उपायहरु रहिरहन्छन् ।कुनै कारणबस पहिलो वृत्ति तयारी गर्न सकिएन भने दोस्रो वा तेस्रो वृत्तिको तयारी गर्न सकिन्छ ।

४. वृत्तिको तयारी

वृत्ति खोजी पथको अन्तिम अथवा चौथो चरण वृत्तिको तयारी गर्ने हो । छनोट गरेको वृत्तिको समयानुसार तयारी गर्दै जानुपर्दछ । तयारी गर्नका लागि अल्पकालिन तथा दीर्घकालिन लक्ष्य निर्माण गरी लक्ष्य प्राप्तिका लागि बिभिन्न किसिमका शैक्षिक तथा अन्य क्रियाकलापहरू गर्दै जानु पर्दछ । उदाहरणको लागि नर्स वृत्ति छनोट गरेको व्यक्तिले नर्सिङ्ग कोर्स अध्ययन गर्ने, जागिरको लागि सोधखोज गर्ने, बायोडाटा तयार गर्ने, अन्तरबार्ताको लागि तयारी गर्ने आदि ।