पछाडी जानुहोस्   

२. वृत्ति विकासका सिद्धान्तहरू (Principles of career development)

वृत्ति विकासका सिद्धान्तहरू

व्यक्तिको विकास सँगै वृत्तिको पनि निरन्तर रुपमा विकास हुन्छ । उक्त विकासले एउटा निश्चित ढाँचा अवलम्वन गरेको हुन्छ । त्यसैगरी वृत्ति विकासका क्रममा केहि कुराहरू परिवर्तनशील छन् भने केहि कुराहरू स्थिर रहन्छन् । वृत्ति आफू सुहाउँदो हुनुपर्दछ भने मानव समुदाय तथा वातावरणलाई सकारात्मक प्रभाव पार्ने किसिमको हुनुपर्दछ । वृत्ति विकास कसरी हुन्छ ? वृत्ति विकासका क्रममा के कस्ता कुराहरूलाई ध्यान दिनु पर्दछ ? जस्ता प्रश्नहरूको उत्तर थाहा पाउन वृत्ति विकासका सिद्धान्तहरूको ज्ञान हुनु आवश्यक हुन्छ । वृत्ति विकासका प्रमुख चार सिद्धान्तहरू यस प्रकार छन्-

१. चक्रीय शैलीको घुमाउरो वृद्धि

यस सिद्धान्तले वृत्ति विकासलाई प्रकृतिको विकासको एक सामान्य नियमसँग दाँजेर हेरेको पाइन्छ । प्रकृतिका हरेक वस्तुहरूको वृद्धि एउटा निश्चित बिन्दुबाट शुरु हुन्छ र बिस्तारै चक्रीय शैलीमा फैलिदै जान्छ । त्यसैगरी वृत्तिको विकासपनि चक्र जस्तो घुमाउरो तरिकाले हुन्छ । चक्रको हरेक तहएक आपसमा अन्तरसम्बन्धित हुन्छन  र नयाँ सिकाई दिन्छन् ।उक्त सिकाइ बिगतको अनुभव र वर्तमान अवस्थाको उपज हो । उदाहरणको लागि कुनै एक व्यक्ति प्रहरीको सिपाही दर्जामा भर्ना भएदेखि शुरू भएको वृत्ति हवलदार, असै, सै र इन्पेक्टर सम्म आइपुग्दा प्रत्येक तहमा हुने सिकाई, अनुभव, जिम्मेवारी तथा गर्नुपर्ने कामहरू फरक फरक हुन्छन् तर एक अर्कामा अन्तर्निहित हुन्छन् ।

२. परिवर्तनशील तथा अपरिवर्तित

समयको परिवर्तनसँगै संसारका धेरै कुराहरू परिवर्तन हुन्छन् भने केही कुराहरू अपरिवर्तित रहन्छन् । समय र अवस्था अनुसार मानिसका रुचि, चाहना र आवश्यकता पनि परिवर्तन हुँदै जान्छन् तर गुणस्तरको माग र मानिसको खुवी अपरिवर्तित हुन्छन् । त्यसकारण वृत्ति छनोट गर्दा परिवर्तित समाज, तत्कालिन आवश्यकता, प्रविधिको विकास र नयाँ नयाँ वृत्तिका अवसरहरूलाई ध्यान पुर्‍याउनु पर्दछ । आफ्नो अपरिवर्तित खुबि र क्षमता अनुरुपको परिवर्तित वृत्ति रोज्न सकेमा सफलता चुम्न सकिन्छ भन्ने कुरालाई यो सिद्धान्तले उजागर गरेको छ ।

३. आफू सुहाउँदो वृत्ति

वृत्तिको यो सिद्धान्तले प्रत्येक व्यक्तिले आफ्नो रुचि, खुबि र क्षमता सुहाउँदो वृत्ति छनोट गर्नुपर्दछ भन्ने कुरामा जोड दिन्छ । कुनै वृत्ति लोकप्रिय छ भन्दैमा त्यो वृत्ति सबैकोलागि उपयुक्त हुन्छ भन्ने हुदैन । साथीहरूको लहै लहमा लागेर वृत्ति छनोट गर्नु हुदैन । वृत्ति छनोट गर्नुभन्दा पहिले आफूलाई बुझ्नु पर्दछ र आफू सुहाउँदो वृत्ति रोजियो भने मानिस जीवनमा सफल बन्दछ ।

४. मानवता र वातावरणप्रति संवेदनशीलता

यस सिद्धान्तले वृत्ति छनोट गर्दा त्यो वृत्तिको दीर्घकालिन प्रभाव लेखाजोखा गरेर मात्र छनोट गर्नु पर्दछ भन्ने कुरामा केन्द्रित रहेको पाइन्छ । हामीले रोज्ने वृत्ति पैसा कति कमाइन्छ भन्ने भन्दापनि त्यो वृत्ति मानवता र वातावरणप्रति कत्तिको संवेदनशील छ भनी हेर्नु पर्दछ । मानवता र वातावरणप्रति असंवेदनशील वृत्ति छनोट गर्नु हुदैन । अरुमाथि शोषण हुने, हानिकारक सामानहरूको आपुर्ति गर्ने, वनजंगल फडानी गर्ने, जनावरहरूको चोरीसिकारी गर्ने जस्ता कार्यबाट पैसा त धेरै कमाउन सकिएला तर यस्ता कार्यले समाज र वातावरण नै असन्तुलन बन्न पुग्दछ । त्यसकारण क्षणिक व्यक्तिगत फाइदालाई मात्र नहेरी सम्पुर्ण मानवता र वातावरणलाई मध्यनजर गरी रोजेको वृत्तिले व्यक्तिलाई सन्तुष्टि प्रदान गर्दछ ।